गण्डकी प्रदेश सरकार
सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय

प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र

पोखरा, नेपाल

कार्यालय प्रमुखको सन्देश


विश्व महामारीको रुपमा रहेको कोभिड–१९ रोग र यसको नयाँ भेरिएन्टबाट उत्पन्न महामारीको अवस्थामा रोगको रोकथाम र व्यवस्थापनका लागि उच्च प्राथमिकताका साथ कार्यहरु भइरहेको व्यहोरा अनुरोध छ । यसै क्रममा कोभिड–१९ रोग विरुद्धको खोप सबै नागरिकहरुलाई समयमै व्यवस्थापन गरि रोगबाट बचाउन छिटो भन्दा छिटो यो अभियान सम्पन्न गर्ने हाम्रो योजना रहेको हुँदा  तोकिएका जनस्वास्थ्यका मापदण्डहरु अपनाई खोप लगाउनुहुन सबैमा आग्रह गर्दछु।

औषधीजन्य मालसामानहरुको अभाबमा स्वास्थ्य सेवाका सम्पूर्ण प्रयास निरर्थक हुने हुँदा यस केन्द्रले खोप तथा खोप सामग्री, औषधी एवं स्वास्थ्य सम्वन्धी उपकरणहरु खरिद, भण्डारण र वितरणसँग सम्बन्धित कार्यलाई केन्द्रबिन्दुमा राखि सेवा प्रवाह र्गदै आइरहेको अबस्था छ ।

कोभिड–१९ रोगको रोकथाम र बिरामीलाई उपचारका लागि औषधीजन्य मालसामानहरुको  उपलब्धताको सुनिश्चित गर्न औषधीजन्य स्वास्थ्य सामग्रीको बैज्ञानिक तबरबाट परिमाण प्रक्षेपण तथा निर्धारण (Forecasting and Quantification) एवं योजना बनाई खरिद गरिएको छ । गण्डकी प्रदेशमा कोभिड–१९ रोगको रोकथाम, निदान र व्यवस्थापनका लागि चाहिने सामग्रीहरु जस्तै ब्यतिगत सुरक्षा सामग्री (Personnel Protective Equipment), Antigen kits, RNA Auto Extraction Kits, PCR Kits र मेडिकल अक्सिजन लगायतका स्वास्थ्य सामग्रीको आपूर्ति व्यवस्थापन र्गदै आइरहेको छ ।

स्वास्थ्य कार्यालय, अस्पतालहरु तथा स्थानिय तहलाई कोभिड–१९ लगायत बिभिन्न रोगको रोकथाम, निदान र व्यवस्थापनका लागि चाहिने आवश्यक औषधी लगायत स्वास्थ्य सामग्री खरिद गर्नका लागि प्राविधिक विवरण (स्पेसिफिकेशन) तयार गर्न, लागत अनुमान तयार गर्न, बोलपत्र सम्बन्धी कागजात तयार गर्न तथा बोलपत्रहरुको प्राविधिक परीक्षण र मूल्याङ्कन गर्नका लागि यस केन्द्रले सहजीकरण र्गदै आइरहेको छ ।

स्वास्थ्य सामग्रीको आपूर्ति र व्यवस्थापनको सुनिश्चित गर्नका लागि यस केन्द्रले केन्द्रमा स्वास्थ्य सेवा विभाग, प्रदेशमा स्वास्थ्य निर्देशनालय, स्वास्थ्य कार्यालय, अस्पताल, स्थानिय सरकार, दातृ निकायहरुबीच र अन्य संघ संस्थाहरुबीच समन्वय गर्दै आपूर्ति व्यवस्थापन सम्बन्धी क्रियाकलापहरु सञ्चालन गरि नागरिकलाई स्वास्थ्य सेवा प्रदान गर्नको लागि महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको छ । संवैधानिक रूपमा नागरिकहरूलाई आधारभूत स्वास्थ्य सेवा सुनिश्चितता गर्ने जिम्मेवारीे तीन तहका सरकारको पर्दछ । प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले यस गण्डकी प्रदेशमा सबै नेपाली नागरिकहरूलाई विशेष गरि महिला, बालबालिका, जेष्ठ नागरिक, शहरी वा ग्रामीण क्षेत्रमा बसोबास गर्ने एवं सीमान्तकृत जनसंख्यालाई गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच बृद्धि गर्न प्रतिवद्ध रहेको छ ।

यस केन्द्रको वेबसाइटले स्वास्थ्य आपूर्तिसंग सम्बन्धित विभिन्न राष्ट्रिय-अन्तराष्ट्रिय स्तरमा रहेको सरोकारवाला निकायहरुको  सूचनाको आवश्यकता परिपुर्ति गर्न सक्षम छ भन्ने कुरामा म बिश्वस्त रहेको छु । यो वेबसाइटले स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका गतिविधिहरूको बारेमा सम्बन्धित सबैलाई सुचित गर्दछ । वेबसाइटलाई अझ बढी फलदायी र प्रभावकारी बनाउन आफ्ना अमूल्य प्रतिक्रिया र सुझाव प्रदान गर्नहुन अनुरोध गर्दै यहाँलाई वेबसाइटमा स्वागत गर्दछु ।

धन्यवाद !

 

 

 

 

 

 

 

 

 

     
   

डा. राजीव रिजाल
 कार्यालय प्रमुख

rajrizal14@gmail.com